जटिल प्रकारका रोगीलाई राहत

 

१० असोज (रासस) – सरकारले विपन्न परिवारको लागि भनेर विभिन्न प्रकारका जटिल रोगको उपचारको लागि राहत दिन थालेको छ । देश भरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल, स्पाइनल इन्जुरीलगायत रोगका बिरामीलाई उपचारको लागि सिफारिश गर्ने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत मीनराज पाण्डेका अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि चालू आवको असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट विभिन्न रोगका ५४० बिरामीले उपचार पाएका छन् । अल्जाइमरको एक जना, क्यान्सरको २००, थालेसिमियाको एक, बे्रन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकलसेलको ३६, स्पाइनल इन्जुरीको आठ तथा हेडइन्जुरीको १२ बिरामीको उपचार गरिएको छ । उपचार गराउनेमा २९४ पुरुष र २४६ महिला रहेका छन् ।

बिरामीले कम्तीमा रु एक लाखसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डे बताउनुहुन्छ । सो उपचार पाउन आफू बसिरहेको स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिश, नागरिकता, जिल्ला बाहिरबाट आएको भए बसाइँसराइको कागज, बालबालिकाको भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्छ । ती सबै कागजपत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएपछि तोकिएको र पाएक पर्ने अस्पतालबाट बिरामीले निःशुल्क उपचार गराउन सक्ने व्यवस्था छ ।

Facebook Comments