पखालाबाट मुस्लिम बस्ती प्रभावित

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो । लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झाले जानकारी दिनुभयो ।

नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ । दुवै ठाउँ गरी २१० जना पखलाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिनुभएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो । “घरघरै बिरामी छन्, हामीले अहिले पनि ५० जनालाई शिविरस्थलमै स्लाइन उपचार जारी राखेका छौँ,” स्वास्थ्य निरीक्षक ठाकुरले भन्नुभयो, “शिविरमा बिरामीलाई उपचारको ठाउँ अपुग भएपछि जिल्ला अस्पताल जलेश्वरमा थप उपचारका लागि पठाएका छौँ ।” करीब ३०० घरधुरीको मुस्लिम बस्तीमा ससाना नानी र किशोर उमेरका बढी प्रभावित पाइएका छन् । गर्भवती र सुत्केरी महिला पनि प्रभावित पाइएका स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिलाइ भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ ।

Facebook Comments