‘समन्वय आवश्यक छ’

स्याङ्जा, १८ असोज (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र समृद्घिका लागि जनप्रतिनिधि र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटमा गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबैसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।

एमाले र माओवादीबीच पार्टी एकता भएको एक वर्ष पुगे पनि पार्टी एकताले अझै पूर्णता पाउन बाँकी रहेको भन्दै प्रदेश इञ्चार्जसमेत रहनुभएका गुरुङले पार्टी केन्द्रको निर्णयलाई आत्मसात् गर्नुपर्छ भन्नुभयो । उहाँले पार्टीको अन्तरिम विधानअनुसार नै सातै प्रदेशका प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले अब जिल्ला तथा स्थानीय तहलेसमेत पूर्णता पाउने बताउनुभयो ।

कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण गर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिइने बताउनुभयो ।