भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको उम्मेदवारी

भियतानाम, (रासस÷एएफपी) – भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएको छ ।

बुधबार उहाँले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उहाँ मात्रै एक्लै उम्मेदवार बन्नु भएको समाचारमा जनाइएको छ । भियतनाममा उहाँलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ ।

कम्युनिष्ट पार्टीले उहाँलाई राष्ट्रपतिको उम्मेदबार बनाउने निर्णय गरेपछि उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँलाई तत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिना अगाडि निधन भएपछि उम्मेदबार बनाउने घोषणा गरिएको थियो ।

“उहाँलाई राष्ट्रपतिको उम्मेदबार बनाउने विषयमा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,” पार्टीको आधिकारीक वेबसाइटमा लेखिएको छ ।

देशको राष्ट्रियसभाले उहाँको उम्मेदवारीलाई स्वतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । पार्टी र सरकारको शक्तिशाली पदमा एकैपटक पुग्नेमध्ये उहाँ पनि एक हुनुभएको छ ।

लामो राजनीतिक यात्रा गर्नुभएका ट्रोङ अहिले ७४ वर्षको हुनुभएको छ भने उहाँले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउने कम्युनिष्ट पार्टीको विश्वास छ ।