अफगानिस्तानमा शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तान इच्छुक

वासिङ्टन, १८ असोज (रासस/एपी) – पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले छिमेकी मित्रराष्ट्र अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्व समाधानका लागि संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पाकिस्तान इच्छुक रहेको बताउनुभएको छ । तर अमेरिकी वरिष्ट कुटनीतिज्ञ जाल्मी खलिलजादको विवादास्पद भनाइको मन्त्री कुरेसीले खुलेरै विरोध गर्नुभयो ।

अफगानिस्तानका लागि राजदूत रहिसकेका खलिलजादको विवादास्पद वक्तव्य अहिले पाकिस्तान सरकारका लागि गलपासो हुँदैछ । पाकिस्तानका लागि राजदूत नियुक्त भएका खलिलजादले विगतमा अफगानी विद्रोही लडाकूलाई पाकिस्तानले संरक्षण गरिरहेको भन्दै उनीहरुलाई दिइआएको सहयोग नरोक्दासम्म पाकिस्तानलाई आतङ्कवादी राष्ट्रको रुपमा घोषणा गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री कुरेसीले खलिलजादको नियुक्तिप्रति पाकिस्तानी सञ्चार माध्यमले बिरोध गरिरहेको बताउनुभयो । खलिलजादका भनाइहरु पाकिस्तानका सन्दर्भमा अत्यन्त नकारात्मक रहेको मन्त्री कुरेसीले उल्लेख गर्नुभयो । “उहाँ (खलिलजाद) लाई नयाँ भूमिका दिइएको छ, र मेरो विश्वास छ उहाँले पाकिस्तानका सन्दर्भमा धारणा राख्दा बढी संवेदनशील हुनु हुनेछ ।”

वासिङ्टनस्थित विचार समूह “युएस पिस इन्स्टिच्यूट” मा सम्बोधन गर्दै मन्त्री कुरेसीले भन्नुभयो, “हो, व्यक्तिगत धारणा राख्न सकिएला, तर औपचारिक पदमा रहेपछि बढी नै संयमित हुनु पर्दछ र बढी संवेदनशील पनि हुनु आवश्यक छ, त्यसपछि मात्र तपाइँ इमान्दार मध्यस्थकर्ता बन्न सक्नुहुन्छ ।”

उहाँले अमेरिका र पाकिस्तानको सम्बन्ध पछिल्ला वर्षमा खराब स्थितिमा पुगेको बताउँदै दुई देशबीचको सम्बन्धलाई जतिसक्दो चाँडो सुदृढ बनाउनुपर्ने खाँचो औंल्याउनुभयो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, खलिलजादले पाकिस्तान र अफगानिस्तानको यही बिहीबारदेखि भ्रमण गर्ने कार्यक्रम छ । उहाँले त्यसपछि युनाइटेड अरब इमिरेट्स, कतार र साउदी अरेबीयाको भ्रमण गर्नुहुनेछ ।

“खलिलजादको मुख्य कार्य नै तालिबानलाई वार्ताको टेबलमा ल्याउन समन्वय गर्नु हो,” अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । “अफगानिस्तानको शान्ति प्रक्रियामा मद्दत गर्नु, सहजीकरण गर्नु र सहभागी हुनु नै ट्रम्प प्रशासनको मुख्य चाहना हो ।”

ट्रम्प प्रशासनले पछिल्ला दिनहरुमा पाकिस्तानमाथि कडा रबैया अपनाइरहेको छ । तालिबान लडाकूका लागि आश्रय उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई दिइआएको सैनिक सहायता रोकेको छ । तालिबानलाई अफगान सरकारसँग प्रत्यक्ष वार्ता गरी शान्ति कायम गर्न पाकिस्तानले मद्दत गरोस् भन्ने अमेरिकी चाहना छ । अफगानिस्तानमा जारी १७ वर्षदेखिको युद्ध मत्थर हुनुको साटो पछिल्ला दिनमा अझ खतरनाक हुँदै गएको छ ।

कुरेसीले अमेरिकी सैनिक सहायता रोकिएकामा पनि आलोचना गर्नुभयो, तर अमेरिकी समकक्षी माइक पोम्पेओसँग वासिङ्टनमा भएको भेटपछि परिस्थितिमा सुधार आउने अपेक्षा गर्नुभयो ।

“मैले भेटमा कडा कुरा होलान् भन्ने सोचेको थिएँ । तर त्यस्तो भएन,” उहाँले भन्नुभयो, “मेरो अनुभवमा पोम्पेओ हाम्रा कुरा ध्यानपूर्वक सुन्न तयार हुनुहुन्थ्यो, र मेरो विचारमा यो धेरै सकारात्मक थियो ।”

अफगान युद्धको शान्तिपूर्ण समाधानका लागि पाकिस्तान, अफगानिस्तान र संयुक्तराज्य अमेरिकाको एउटै धारणा रहेको पनि मन्त्री कुरेसीले बताउनुभयो । तर तालिबानले काबुलसँग सोझो वार्ता गर्न अस्वीकार गरिरहेको छ, र उनीहरु संयुक्तराज्य अमेरिकासँग वार्ता गर्न चाहन्छन् । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् ।