डाक्टर बन्दै गरेको छोराको नियोजित हत्या भएपछि न्यायको लागि आमा रुँदै मिडियामा [हेर्नुहोस् भिडियो]

भक्तपुर। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय बनेको छ। घटना रहस्यमय बन्दै गएपछि सत्य तथ्य बाहिर ल्याउन आफन्तले माग गरेको छन्।

साउन १६ गते सुतेकै अवस्थामा कोठामै उनी मृत अवस्थामा भेटिएका थिए। आफन्तले उनको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन्। बुधबार राजधानीस्थित सञ्चारकेन्द्र नेपालमा पत्रकार सम्मेलन गरेर आफन्तले उनको मृत्यु रहस्यमय बनेको भन्दै थप अनुसन्धान गर्न माग गरेका हुन्।

उनको शरीरमा निलडाम देखिएको, मृतकको घाँटीमा ल्यापटपको तार बेरिएकोे, नाक, कान, मुखबाट रगत बगेको राति १ बजेसम्म सँगै पढेर सुतेका साथीले बयान दिएपछि घटना अझै रहस्यमय बनेको हो।

मृतककी बहिनी सोनु उप्रेतीले भावुक हुँदै आफ्नो दाजुको आत्महत्या नभई हत्या भएकाले दोषीलाई कारबाही हुनुपर्ने माग गरिन्। उनले आफ्नो दाजुको मृत्युको कारण पत्ता नलाग्दा पनि यो विषयमा कलेजले चासो नराखेकोप्रति आपत्ति जनाइन्।

यसैगरी मृतककी आमा गोपिनी सापकोटा (उप्रेती)ले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाएको छोराको मृत्यु भएको खबरले परिवार गहिरो शोकमा रहेको बताएकी छिन्। उनले पठाएको न्यायपत्र पत्रकार सम्मेलनमा वाचन गरिएको थियो। उनले छोराको हत्या भएको घटनाको वास्तविकतालाई सामान्य तरिकाले गुपचुप गर्न खोजिएकोप्रति आक्रोश व्यक्त गरेकी छन्।